काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेश नियन्त्रण गर्न र सुरक्षा व्यवस्थापन चुस्त बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा सचेत रहन आग्रह गरेका हुन् ।
आफूहरू बसिरहेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै उनले नेता तथा प्रतिनिधिहरूसँग भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको पहुँच व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
उनले भेलामा सहभागी सबै नेता तथा प्रतिनिधिलाई परिचयपत्र अनिवार्य लगाउन पनि आग्रह गरे । सांस्कृतिक वा अन्य कारणले परिचयपत्र लगाउन नमिल्नेले साथमा राखेर आवश्यक पर्दा देखाउनुपर्ने उनको भनाइ थियो ।
बैठकलाई शान्त, अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै ओलीले आपसी भेटघाट तथा कुराकानीका लागि खाना, खाजा र विश्रामको समय उपयोग गर्न आग्रह गरे । बैठकका क्रममा अनावश्यक कुराकानी नगर्न निर्देशन दिँदै उनले निर्धारित कार्यसूचीअनुसार दिउँसो २ बजेसम्म कार्यक्रम सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।