काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)ले आगामी मंसिर ५ र ६ गते ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने एक्स्पोमा सूचना प्रविधि क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी हुनेछन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दीपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै उपलब्ध प्रविधि क्षेत्रका रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए।
उनले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताए। नेपालमै विकसित सफ्टवेयर तथा प्रविधिजन्य उत्पादनलाई स्वदेशी बजारमा चिनाउन पनि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रमा कार्यरत कम्पनी सहभागी हुनेछन्।
नेपालको सूचना प्रविधि उद्योगले छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा सेवा तथा प्रविधि निर्यातमा उपलब्धि हासिल गरेको उल्लेख गर्दै चापागाईंले भने, ‘नेपालमै बनेका सफ्टवेयरलाई नेपाली बजारसँग परिचित गराउन पनि एक्स्पो आयोजना गर्न लागिएको हो।’
नास–आईटीले सन् २०२५ नोभेम्बरमा एक्स्पोको पहिलो संस्करण आयोजना गरेको थियो। पहिलो संस्करणको अनुभवका आधारमा यस वर्षको आयोजनालाई थप प्रभावकारी बनाउँदै व्यावसायिक सहकार्यमा केन्द्रित गर्ने आयोजकको अपेक्षा छ।