धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आजै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावलाई समेटेर प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन् ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन् । मतदान हुनुअघिसम्म सहमति जुटाउने प्रयास जारी रहने उनले बताएका छन् ।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
दुवै दलले समर्थन फिर्ता लिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एक सय ७ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
कांग्रेसका २२ सांसद मात्रै रहेको अवस्थामा मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।