काठमाडौं । सूर्यदेवको उपासना र आराधना गरी श्रद्धा तथा निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । यस दिन व्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ चामल, सक्खर र दूध मिसाएर बनाइएको खीर प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।
खरनाका दिन व्रतालुहरूले शुद्धता र विधिपूर्वक खीर तयार गरी पूजा गरेपछि प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । उक्त प्रसाद घरपरिवारका सदस्यलाई खुवाउनुका साथै छठ पर्व नमनाउने परिवार तथा छिमेकीलाई समेत वितरण गर्ने चलन रहेको छ ।
सन्तानको सुख, पारिवारिक समृद्धि र कल्याणको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्व शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको हो । पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी अरबा अरबाइन तथा शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए ।
छठ पर्वको तेस्रो दिन आइतबार मुख्य पूजा गरिनेछ । यस दिन व्रतालुहरूले विभिन्न पूजासामग्रीसहित जलाशय तथा नदी किनारका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । यस विधिलाई ‘साँझको अर्घ्य’ अर्थात् ‘सौझकारक’ भनिन्छ ।
पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् समापन हुनेछ । यस दिनको विधिलाई ‘पारन’ भनिन्छ ।
छठमा बाँसका ढाकी, डग्री, माटोका कोसिया, कुरबार, हात्ती लगायतका सामग्री पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न प्रकारका मिठाई तथा फलफूल सूर्यदेवलाई प्रसादका रूपमा चढाउने परम्परा छ ।
छठ पर्वमा अर्घ्य दिने व्रतालुहरू अन्तिम दिनसम्म करिब ४८ घण्टा पानीसमेत नपिई कठोर उपवास बस्ने गर्छन् । सूर्यदेवलाई अर्पण गरिने प्रसाद तथा पूजासामग्री तयार गर्दा विशेष शुद्धता र नियम पालना गर्नुपर्ने भएकाले यस पर्वलाई निष्ठा, आस्था र कठोर साधनाको पर्वका रूपमा लिइन्छ ।
छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।