कास्की । पोखराका चार स्थानमा यस वर्ष छठ पर्व मनाउन आवश्यक तयारी पूरा गर्ने काम भइरहेको छ । तराई–मधेस समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा भव्य रूपमा मनाउने तयारी गरिएको हो ।
पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीस्थित माछापोखरी तथा फूलबारी र भलामको बीचमा रहेको कालीखोलामा छठ पूजाका लागि घाट निर्माण गरिएको छ ।
पूजास्थलको सरसफाइ गरी विभिन्न रङका बत्ती तथा सजावटले झिलिमिली बनाउने काम भइरहेको छ । चारवटै स्थानमा टेन्ट राखेर व्रतालु तथा दर्शनार्थीका लागि पूजा र दर्शनको विशेष व्यवस्था मिलाइएको नेपाल–भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेश कुमारले जानकारी दिए ।
उनका अनुसार रोजगारी, पेसा तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गर्दै आएका तराई–मधेस समुदायका व्यक्तिलाई घर जान नसके पनि यहीँ छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले केही वर्षयता पूजाको व्यवस्था मिलाउँदै आइएको छ ।
“छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेहरूका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ । यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा तयारी गरेका छौँ । तराई–मधेस तथा भारतीय नागरिकसँगै पछिल्लो समय पहाडी समुदायका व्यक्तिहरूको सहभागिता पनि बढ्दै गएको छ । व्रतालुलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाएका छौँ,” उनले भने ।
यस वर्ष पोखरामा एक हजारदेखि एक हजार ५०० जनासम्म व्रतालु सहभागी हुने र पूजा अवलोकन तथा दर्शनका लागि आउनेसहित करिब १० हजार जनाको उपस्थिति रहने अपेक्षा गरिएको अध्यक्ष कुमारले बताए ।
पूजा व्यवस्थापनलाई सहज बनाउन चारवटै स्थानमा छुट्टाछुट्टै पूजा समिति गठन गरिएको छ । ती समितिले व्रतालु तथा सहभागीबाट स्वेच्छिक सहयोग सङ्कलन गरी पूजाको व्यवस्थापन गर्दै आएका छन् ।
छठ पर्व सूर्यदेव र छठी माताको उपासना गरी मनाइने महत्वपूर्ण धार्मिक पर्व हो । यस पर्वमा व्रतालुले उपवास बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा गर्ने परम्परा छ । परिवारको सुख, शान्ति र समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरू छठ व्रत बस्ने गर्छन् ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।
यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ । छठका अवसरमा पूजास्थल तथा घाटलाई केराका बोट, उखु, अदुवा, भोगटे, सुन्तला र विभिन्न फलफूलले सजाउने परम्परा छ ।