काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज लिगचरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनी जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ भने विराटनगर जित हासिल गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
लुम्बिनी ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । आजको खेल जितेमा टोली शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ । पराजित भएमा भने पहिलो क्वालिफायरमा स्थान बनाउन अन्य टोलीको नतिजामा निर्भर रहनुपर्नेछ ।
यता विराटनगरका लागि भने आज जित अनिवार्य छ । तर, जितले मात्रै उसको प्लेअफ यात्रा सुनिश्चित हुने छैन । विराटनगरले काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको खेलको नतिजासमेत कुर्नुपर्नेछ ।
काठमाडौं ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलबाट ७ अंक जोडेको चितवन चौथो स्थानमा छ । आज फराकिलो जित निकाल्न सके विराटनगर तेस्रो स्थानमा उक्लिन सक्छ भने सामान्य जितले चौथो स्थानमा पुग्ने सम्भावना छ ।
आजको खेलमा पराजित भए विराटनगरको प्लेअफ पुग्ने गणितीय सम्भावनासमेत समाप्त हुनेछ ।