महोत्तरी । नेपाल र भारतको सीमाबीच बग्ने विगही नदी किनारमा छठ पर्वका लागि साझा घाट निर्माण गरिएको छ । नदीको वारिपारि रहेका दुवै देशका नागरिकले सामूहिक रूपमा करिब दुई किलोमिटर लामो छठघाट तयार पारेका हुन् ।
महोत्तरीको मटिहानी नगरपालिका र धनुषाको तुलसीयाहीसँगै भारतको सीमावर्ती मधवापुर र रामपुरका बासिन्दाको सहभागितामा घाट व्यवस्थापन तथा सजावट गरिएको छ । नदीको दुवैतर्फ पाल टाँगेर व्रतालुका लागि पूजास्थल तयार पारिएको छ ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार दसगजाले दुई देशको भौगोलिक सीमा छुट्याए पनि स्थानीय बासिन्दाबीचको पारिवारिक सम्बन्ध र सांस्कृतिक निकटताले उनीहरूलाई जोडेको छ । विवाह, चाडपर्व र सुखदुःखमा एकअर्कासँग सहभागी हुँदै आएका सीमावर्ती नागरिकले छठलाई पनि साझा उत्सवका रूपमा मनाउँदै आएको उनले बताए ।
यस वर्ष नेपाल र भारतका गरी दुई हजारभन्दा बढी व्रतालुले विगही नदी किनारको साझा घाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने अनुमान गरिएको छ । हजारौँ श्रद्धालु छठीमाताको पूजा आराधनाका लागि घाटमा पुग्ने आयोजकको अपेक्षा छ ।
नहाय–खाय विधिबाट सुरु हुने छठ पर्वमा व्रतालुले दोस्रो दिन खरना गर्छन् । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ ।
विगही नदी किनारको साझा छठघाटले धार्मिक आस्थासँगै नेपाल र भारतका सीमावर्ती नागरिकबीचको सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको छ । भौगोलिक सीमाले छुट्याए पनि आपसी आत्मीयता र सहकार्यले जोडिएका नागरिकको साझा उत्सवका रूपमा यो घाट विकास हुँदै गएको छ ।