जनकपुर । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार भए त्यसको रक्षाका लागि काँग्रेस आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्र रक्षाका लागि जुनसुकै संघर्ष गर्न तयार रहेको उनको भनाइ छ।
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आगामी चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनबारे नै अन्योल सिर्जना भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धताबारे स्पष्ट पार्नुपर्ने बताए। निर्धारित समयमा निर्वाचन नगराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनले उल्लेख गरे।
स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सरकारको सोच भए संविधान संशोधन आवश्यक पर्ने भन्दै उनले त्यसका लागि कुनै ठोस गृहकार्य नभएको टिप्पणी गरे।
काँग्रेस तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै पौडेलले सरकारलाई आफ्ना कमजोरी सच्याउन आग्रह गरे। नागरिकका असहमति र आवाज सुनिने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गतिविधि जारी राखे काँग्रेस अन्य शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने उनले बताए। लोकतन्त्र खोस्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने र त्यसका लागि अरू दुर्गानन्दहरू जन्मिने उनको चेतावनी थियो।
सरकार अझै सच्चिएर सही बाटोमा आउने विश्वास आफूहरूमा रहेको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु अहिलेका प्रमुख सरोकार भएको बताए।