महोत्तरी । महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा करिब दुई किलोमिटर लामो छठ घाट तयार गरिएको छ। नेपाल र भारतका नागरिकले संयुक्त रूपमा छठ पर्व मनाउँदै आएको यो घाट दुई देशबीचको सांस्कृतिक एकताको उदाहरण बनेको छ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सांस्कृतिक परम्पराले एकआपसमा जोडिएका दुवै देशका नागरिकले आपसी सद्भाव र मेलमिलापका साथ छठ मनाउने गरेका छन्।
बिग्ही नदीको दुवै किनारमा निर्माण गरिएको उक्त घाटमा नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारततर्फ मधवापुर र रामपुरका व्रतालु सहभागी हुने गरेका छन्।
नगर प्रमुख मण्डलले सीमाले दुई देशलाई छुट्याए पनि सांस्कृतिक सम्बन्धले नागरिकलाई एकताबद्ध बनाएको बताए। उनले भने, “छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने संस्कृति हामीले बसालेका छौँ। यो दुई देशबीचको प्रगाढ सम्बन्धको अनुपम उदाहरण हो।”
उनका अनुसार घाट निर्माणमा लाग्ने खर्चसमेत दुवै देशका नागरिकले समान रूपमा व्यहोर्ने गरेका छन्।
भारतको मधुवनी जिल्लास्थित मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झाले पनि राष्ट्रिय सीमाले नागरिकको पहिचान छुट्याए पनि भाषा, संस्कृति, परम्परा र चाडपर्व साझा रहेको बताए।
नेपाली भाषामै कुराकानी गर्ने झाले भने, “दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडबाड साझा छन्।”
मानवीय संवेदना र सांस्कृतिक परम्पराका विषयमा नेपाली र भारतीय भनेर छुट्याउने अवस्था नरहेको उनको भनाइ छ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाले केही वर्षयता बिग्ही नदी किनारको एउटै घाटमा सँगसँगै छठ पर्व मनाउँदै आएका छन्। यसले दुई देशका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै एकअर्काको सुखदुःखमा साथ दिने संस्कृतिसमेत विकास गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन्।
उक्त संयुक्त छठ घाटमा दुवै देशका कलाकारले मिलेर सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने गरेका छन्। सीमाभन्दा माथि उठेर आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकता प्रदर्शन गर्ने अवसरका रूपमा छठ पर्व स्थापित भएको दुवैतर्फका स्थानीयवासी बताउँछन्।
चार दिनसम्म मनाइने महापर्व छठ यस वर्ष आज ‘नहाय–खाय’ विधिबाट सुरु भएको छ। शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ‘सझिया घाट’ र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर ‘पारन’ गरेसँगै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ।