अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकिएको थियो । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए । श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ पुग्ने योजनाअनुसार उनी राति करिब १ बजे उठे। श्रीमती पुनमदेवी यादवलाई पनि उठाए । त्यसपछि अवधेश छोराछोरीलाई तयार पारेर परिवारका सबै सदस्य ललितपुरको टीकाथली चोक पुगे।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका छिमेकी र आफन्त मिलेर विद्युतीय माइक्रोबस रिजर्भ गरेका थिए । सबैको उद्देश्य एउटै थियो, घर पुगेर परिवारसँग छठ मनाउने । अवधेशका परिवारबाट मात्रै आठ जना यात्राका लागि निस्किएका थिए ।
तर गाडीमा चढ्ने बेला अवधेशका लागि ठाउँ पुगेन । बालबालिकासहित यात्रुले गाडी भरिएको थियो । केहीबेरको अन्योलपछि अवधेशले श्रीमती, छोराछोरी र दुई भाइलाई पठाएर आफू पछि जाने निर्णय गरे । एक दिन थप फलफूलको व्यापार गरेर घर फर्किने सोचसहित उनी कोठामा फर्किए ।
बिहान उठ्दा भने अवधेशले परिवार चढेको गाडी दुर्घटनामा परेको खबर पाए । छठ मनाउन घर पठाएका अवधेशका श्रीमती, तीन छोरी र दुई भाइको ज्यान गएको थियो ।
बिहीबार साँझ हेटौँडा अस्पताल परिसरमा भेटिएका अवधेशले गाडीमा ठाउँ नपुगेपछि परिवारका सदस्यलाई पठाएर आफू पछि आउने निर्णय गरेको सुनाए । छठ मनाउन परिवारसँगै घर जाने योजना बनाएका उनका लागि त्यही बिदाइ अन्तिम बन्न पुग्यो ।
अवधेशकी ३५ वर्षीया श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा दुई भाइ २६ वर्षीय विकेश र २४ वर्षीय सुवोध यादवको उक्त दुर्घटनामा मृत्यु भएको हो । विकेश काठमाडौँमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै थिए भने सुवोध फलफूल व्यापारमा संलग्न थिए । परिवारका १४ महिनाका बालक सुदीप यादव भने दुर्घटनामा घाइते भएका छन् ।