सुनसरी– छठ पर्व नजिकिँदै जाँदा बाँसको चोयाबाट तयार गरिएका परम्परागत सामग्रीको माग र बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको कारोबार यस समयमा बढ्ने गरेको छ ।
इनरुवा नगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री उत्पादन गर्दै परिवारको जीविकोपार्जन गर्दै आएका छन् । बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै आएका उनले यसैलाई आफ्नो मुख्य पेसा बनाएका छन् ।
‘पहिले बुबाआमाले गर्दै आउनुभएको पेसालाई अहिले हामीले निरन्तरता दिएका छौँ’, उनले भने, ‘गाउँबाट प्रतिघान २५० रुपैयाँमा बाँस खरिद गरेर चोया निकाल्छौँ र विभिन्न सामग्री बनाउँछौँ । एउटा सामान्य सामग्री तयार गर्न करिब दुई घण्टा लाग्छ ।’
उनले उत्पादन गरेका सामग्रीको मूल्य ५० देखि ५०० रुपैयाँसम्म पर्ने गरेको छ । पूजाआजामा सीमित समयका लागि मात्रै प्रयोग हुने भएकाले महँगा सामग्रीको बिक्री तुलनात्मक रूपमा कम हुने गरेको उनले बताए । उत्पादित सामग्री उनले स्थानीय हटिया बजारमा बिक्री गर्दै आएका छन् ।
विशेषगरी मधेसी तथा चौधरी समुदायमा विवाहका बेला कोनिया र ढकियाको प्रयोग बढी हुने भएकाले विवाहको मौसममा यसको माग बढ्ने गरेको छ । त्यस्तै, तिहार र छठ पर्वमा पूजाका लागि आवश्यक पर्ने भएकाले यी सामग्रीको बिक्रीमा वृद्धि हुने गरेको मरीकले बताए ।
केही ग्राहक घरमै आएर सामग्री खरिद गर्ने गरे पनि उनी आफैँ इनरुवाको सोमबारे र बिहीबारे हटियामा पुगेर बिक्री गर्छन् । ‘अरू कुनै पेसा व्यवसाय छैन । वर्षभरि यही काम गर्छौँ । आम्दानीको हिसाब राख्ने गरेका छैनौँ, तर परिवारको जीविकोपार्जनको मुख्य आधार यही हो’, उनले भने ।
यसैगरी, इटहरी उपमहानगरपालिका–३ स्थित सुनौलो बस्तीका बसन्त राई पनि बाँसको चोयाबाट नाङ्लो बुनेर राम्रो आम्दानी गर्दै आएका छन् । पुर्ख्यौली सीपलाई व्यावसायिक रूप दिएका उनले विगत दुई दशकदेखि नाङ्लो उत्पादन र बिक्री गर्दै आएका हुन् ।
‘यो हाम्रो पुर्ख्यौली पेसा हो । समय दिएर मेहनतका साथ काम गर्न सकियो भने आम्दानी पनि राम्रै हुन्छ’, उनले भने, ‘नाङ्लो बिक्रीबाट वार्षिक सातदेखि आठ लाख रुपैयाँसम्मको कारोबार हुन्छ । यही आम्दानीबाट घरखर्च, छोराको पढाइ र परिवारका अन्य आवश्यकता पूरा गर्दै आएका छौँ ।’
नाङ्लो बनाउन आवश्यक बाँस उनले तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गरेका छन् । एउटा बाँसको मूल्य २०० देखि ३०० रुपैयाँसम्म पर्ने र त्यसबाट १० देखि १२ वटासम्म नाङ्लो बनाउन सकिने उनले बताए । उनका अनुसार एक सातामा करिब १०० वटाभन्दा बढी नाङ्लो तयार गर्न सकिन्छ । उत्पादित नाङ्लो व्यापारीले प्रायः हरेक साता घरमै आएर खरिद गरी लैजाने गरेका छन् ।
उनले उत्पादन गरेका नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायत बजारमा बिक्री हुने गरेका छन् । एउटा नाङ्लोको मूल्य १३० देखि २५० रुपैयाँसम्म पर्ने राईले जानकारी दिए ।
‘नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट नाङ्लो ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो भोजपुरका व्यापारी नै आएर लैजानुहुन्छ’, उनले भने ।
दसैँ, तिहार र छठलगायत चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने भएकाले भदौ, असोज र कात्तिकमा यसको बिक्री अन्य महिनाको तुलनामा बढ्ने गरेको छ । सुनौलो बस्तीमा राईसहित १५ भन्दा बढी घरपरिवार बाँसको चोयाबाट नाङ्लो बुन्ने व्यवसायमा संलग्न छन् ।
बाँसका सामग्री उत्पादन गर्ने यस पेसाले स्थानीयलाई घरमै बसेर आम्दानी गर्ने अवसर दिनुका साथै पुर्ख्यौली सीपको संरक्षणमा समेत योगदान पुर्याएको छ ।
‘अरूकोमा मजदुरी गर्नुभन्दा घरमै बसेर पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै कमाउनु फाइदाजनक छ । मेहनत गर्नुपर्छ, आम्दानी राम्रै हुन्छ’, राईले भने, ‘नाङ्लो बुनेर आएको आम्दानीबाट सानो घर बनाएको छु । छोराछोरीको पढाइ खर्च पनि यही पेसाबाट जुटाएको छु ।’
ग्राहकको मागअनुसार विभिन्न आकार र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने भए पनि बजारमा माग बढेअनुसार मूल्य भने वृद्धि हुन नसकेको उनको भनाइ छ ।