म्याग्दी।यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीकाका अवसरमा म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा टीका लगाएर तिहार मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिँदै भाइटीका मनाएका हुन् ।
बालबालिकालाई तिहारका बेला अभिभावकको अभाव र एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । उनका अनुसार बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् ।
अभिभावकविहीन बालबालिकालाई आश्रय प्रदान गर्दै आएको बालगृहले उनीहरूको माध्यमिक तहसम्मको शिक्षाको समेत व्यवस्था गरेको छ ।
सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरेर बालगृहमा भाइटीका कार्यक्रम आयोजना गरेका हुन् ।
बालगृहमा विगत चार वर्षदेखि प्रत्येक तिहारमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।