काठमाडौँ– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्वसेना प्रमुख तथा विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।
गत साता सम्पन्न निर्वाचनमा आइजेनकोट नेतृत्वको गठबन्धन र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको गठबन्धनमध्ये कुनैले पनि १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति हर्जोगले उनलाई सरकार गठनको जिम्मेवारी सुम्पिएका हुन्।
सरकार गठनका लागि आइजेनकोटले २८ दिनको समय पाएका छन्। उक्त अवधिमा सरकार गठन गर्न नसके थप १४ दिनको समय पाउन सक्ने बीबीसीले जनाएको छ।
जिम्मेवारी पाएपछि आइजेनकोटले सामाजिक सञ्जालमार्फत अहिले राष्ट्रिय संकटको सामना गर्न सक्ने सरकार गठन गर्नु आवश्यक रहेको बताएका छन्। उनले लेखेका छन्, ‘अहिले राष्ट्रिय संकटको सरकार गठन गर्ने समय हो। हामी यसका लागि योग्य छौँ भन्ने सुनिश्चित गर्न म हरसम्भव प्रयास गर्नेछु।’
निर्वाचन परिणामअनुसार नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टी तथा उसका कट्टर दक्षिणपन्थी र अति अर्थोडक्स यहुदी सहयोगी दलहरूले १२० मध्ये ५३ सिट जितेका छन्। त्यस्तै, आइजेनकोटको मध्यमार्गी यासार पार्टीसहित उनका गठबन्धनमा आबद्ध अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट प्राप्त गरेका छन्।
यसैगरी, अरब समुदायको प्रतिनिधित्व गर्ने दुई गठबन्धन युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले कुल १९ सिट जितेका छन्। निर्वाचनमा अरब मतदाताको उल्लेख्य सहभागिताले उनीहरूको प्रतिनिधित्व बढेको बताइएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति हर्जोगले साताभरि विभिन्न राजनीतिक दलसँग परामर्श गरेपछि आइजेनकोटलाई सरकार गठनको पहिलो अवसर दिने निर्णय गरेका हुन्।
नवनिर्वाचित सांसदहरूको प्रतिनिधिमण्डलसँगको परामर्शका क्रममा आइजेनकोटले प्रधानमन्त्रीका रूपमा ६७ जनाको समर्थन प्राप्त गरेका थिए भने नेतान्याहुलाई ४६ जनाले समर्थन गरेका थिए।
इजरायलमा सरकार गठनका लागि राष्ट्रपतिले गठबन्धन बनाउन सक्ने सम्भावना बढी भएको नेतालाई जिम्मेवारी दिने अधिकार राख्छन्। यसका लागि सबैभन्दा बढी सिट जित्ने दलकै नेतालाई छनोट गर्नुपर्ने बाध्यता भने छैन।
इजरायलको संसदीय प्रणालीमा हालसम्म कुनै पनि राजनीतिक दलले एक्लै स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन। त्यसैले त्यहाँ सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन आवश्यक पर्दै आएको छ।