सुनसरी । तिहार नजिकिएसँगै सुनसरीको धरान बजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म मुख्य बजार, गल्ली तथा सडकपेटीमा तिहारका सामग्री खरिद गर्ने ग्राहकको भीड लाग्न थालेको छ ।
धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भानुचोकस्थित घण्टाघरको सडकपेटीमा पसल सञ्चालन गर्दै आएका छन् । उनले किसमिस, नरिवल, मिठाई, झिलिमिली बत्तीलगायत तिहारमा आवश्यक सामग्री बिक्री गरेर पर्वको खर्च जुटाइरहेका छन् ।
दासका अनुसार बिहान र साँझको समयमा व्यापार बढी हुने गरेको छ । दिउँसो घामका कारण ग्राहकको चहलपहल कम भए पनि साँझपख बजारमा भीड बढ्ने र बिक्रीसमेत राम्रो हुने गरेको छ । अहिले दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको उनले बताए ।
तिहारलाई लक्षित गरी धरानका मुख्य बजार तथा सडकपेटीमा साना–ठूला व्यापारीले विभिन्न सामग्री बिक्रीका लागि राखेका छन् । दियो, माटाका पाला, रङ, मिठाई, किसमिस, फूलमाला, अबिर तथा झिलिमिली बत्तीका अस्थायी पसलमा ग्राहकको घुइँचो देखिन थालेको छ ।
दसैँपछिको दोस्रो ठूलो नेपाली पर्वका रूपमा लिइने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि चिनिन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलिमिली बत्तीले घर उज्यालो बनाउने परम्परा छ । यही कारण तिहारको समयमा पूजासामग्री, सजावटका सामान र मिठाईको माग बढ्ने गरेको व्यापारी बताउँछन् ।
धरान सब्जीमण्डीका झिलिमिली बत्ती व्यापारी राजन कोइरालाका अनुसार पछिल्लो समय परम्परागत दियोभन्दा आधुनिक विद्युतीय बत्तीको आकर्षण बढ्दै गएको छ । अन्य चाडपर्व तथा विवाहको मौसममा सीमित बिक्री हुने यस्ता बत्ती तिहारमा भने ठूलो परिमाणमा बिक्री हुने गरेको उनले बताए ।
तिहारको मागलाई ध्यानमा राखेर व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघिदेखि नै झिलिमिली बत्तीको व्यवस्था गर्ने गरेका छन् । पछिल्ला दिनमा दैनिक ठूलो परिमाणमा बत्ती बिक्री भइरहेको कोइरालाको भनाइ छ । अहिले इलेक्ट्रिक पसलदेखि खुद्रा पसलसम्मले समेत मौसमी व्यापारका रूपमा यस्ता सामग्री बिक्री गरिरहेका छन् ।
धरानको भानुचोक, मुख्य बजार, सब्जीमण्डी तथा पुरानो बजार क्षेत्रमा तिहारका सामग्री किन्ने र बेच्नेको चहलपहल उल्लेख्य बढेको छ । पर्वका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको आवागमन बढेपछि बजार थप व्यस्त बनेको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजारमा आर्थिक गतिविधि बढेको बताए । उनका अनुसार साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएका छन् ।
यद्यपि, तिहारको समयमा सडकपेटी र गल्लीमा अस्थायी पसल सञ्चालन हुँदा भीड तथा सडक व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको खतिवडाले बताए । भीडभाडका कारण कतिपय स्थानमा आवतजावतसमेत कठिन हुने भएकाले सङ्घले प्रशासनसँग समन्वय गरी बजारलाई व्यवस्थित र सुरक्षित बनाउन सहयोग गरिरहेको उनको भनाइ छ ।
सडकपेटीमा पसलको उचित व्यवस्थापन, भीड नियन्त्रण तथा सुरक्षा मापदण्डको पालना गराउँदै ग्राहक र व्यापारी दुवैको सुरक्षामा ध्यान दिइएको उनले बताए ।
तिहारका केही दिनको व्यापारबाट साना व्यवसायीले समेत राम्रो आम्दानी गर्ने अवसर पाउने भएकाले यस्तो मौसमी कारोबारले धरानको स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याएको छ । बजारमा बढ्दो चहलपहलसँगै व्यापारीमा पनि उत्साह थपिएको छ ।