नवलपुर– हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ । कात्तिक ८ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा बागलुङ र पोखरालगायत विभिन्न धार्मिकस्थलको परिक्रमा गर्दै पूर्वको मेचीसम्म पुगेपछि शनिबार नवलपुर आइपुगेको हो ।
रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार नेपालको पौराणिक तीर्थस्थलहरूको प्रचारप्रसार, धार्मिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय एकता सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा महाकालीसम्म पुगेर पुनः नवलपुर फर्किने कार्यक्रम रहेको प्रपन्नाचार्यले बताए । उनका अनुसार रथयात्रा नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेर कात्तिक ३० गते समापन हुनेछ ।
उनले रथयात्रामार्फत मुक्तिक्षेत्र, शालिग्राम भगवान् तथा गण्डकी क्षेत्रको धार्मिक महत्त्व प्रचार गर्नुका साथै सामाजिक सद्भाव र धार्मिक एकताको सन्देश प्रवाह भइरहेको बताए ।
रथयात्रा समापनपछि मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए ।
एकमहिने महायज्ञको पूर्वतयारी तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म रथयात्रा सञ्चालन गरिएको उनको भनाइ छ ।
रथयात्राले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका तीर्थस्थलहरूको परिक्रमा गरिरहेको छ । यस अभियानले धार्मिक अनुष्ठानसँगै राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने तथा सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसादसमेत वितरण भइरहेको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले ऐतिहासिक तीर्थस्थलहरूबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार, आन्तरिक पर्यटन र तीर्थाटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउनु पनि रथयात्राको उद्देश्य रहेको बताए ।
उनले रथयात्रा पुग्ने स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमीहरूलाई भगवान्को दर्शन, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र धार्मिक अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।