काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित समुदायको पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराएको हो ।
शुक्रबार साँझ ठमेलमा आयोजित ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रजिअ पौडेलले विपद्का बेला ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले प्रभावित नागरिकका लागि गरेको सहयोगको प्रशंसा गरे ।
परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताए ।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ ।
यसअघि परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित रसुवा पुगेर २५ लाख रुपैयाँ बराबरको खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरेको महासचिव पशुपति कँडेलले जानकारी दिए ।
परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिएको छ ।