पाल्पा– तिहार नजिकिएसँगै पाल्पाका खेतबारीमा सयपत्री र मखमलीलगायत फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखाबारीको सौन्दर्य बढाउनुका साथै किसानमा आम्दानीको आशासमेत जगाएको छ । चाडपर्वलाई लक्षित गर्दै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने काममा व्यस्त छन् ।
रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोइराला र उनका छोरा खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्न व्यस्त छन् । उनीहरूले धर्तीमाता कृषि फार्ममार्फत दीपावलीलाई लक्षित गरी टेनिस बल जातको सयपत्री फूल खेती गरेका हुन् ।
फार्ममा अहिले फूल ढकमक्क फुलेका छन् । चार रोपनी क्षेत्रफलमा गरिएको फूल खेतीले बाँझो जमिनको सदुपयोग गर्नुका साथै आम्दानीको नयाँ सम्भावना देखाएको छ । यस वर्ष फूल खेतीबाट करिब छ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराजले बताए ।
उनका अनुसार उत्पादित फूल पाल्पामा मात्रै सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पुर्याउने योजना छ । तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ । उपभोक्तालाई सहज होस् भनेर घरदैलोमै फूल तथा माला उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
फूल खेतीका लागि आवश्यक प्राविधिक व्यवस्थापन, मलजल, बिरुवाको वृद्धि र उत्पादनको रेखदेख खिमराज आफैँले गर्दै आएका छन् । उनकी आमा इन्दिराले भने फूलको नियमित स्याहारसुसार र हेरचाहको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
आमा–छोराको संयुक्त प्रयासमा चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो । वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्ता जमिनको सदुपयोग गरी राम्रो आम्दानी गर्न सकिने इन्दिराको भनाइ छ ।
उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल र अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल तथा माला बिक्रीका लागि पठाउने गरिएको उनले बताइन् ।
पाल्पामा कोइराला परिवार मात्रै नभई अन्य किसान पनि व्यावसायिक फूल खेतीमा आकर्षित भएका छन् । बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्यालले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । पोखराथोकका श्रवणकुमार श्रेष्ठले पनि आफ्नो बारीभरि फूल खेती गरेका छन् । चाडपर्व नजिकिएसँगै उनीहरूको दैनिकी फूलको स्याहार र बिक्री व्यवस्थापनमै बित्ने गरेको छ ।
जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट र रम्भालगायतका क्षेत्रका किसानले समेत व्यावसायिक रूपमा फूल उत्पादन गर्दै आएका छन् । स्थानीय स्तरमै फूलको उत्पादन र बजार विस्तार हुन थालेपछि किसानले फूल खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।