गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन उत्तरी गोरखाका विकट गाउँमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्म पर्ने गरेको छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा चर्को खर्च लाग्ने भएकाले चुमनुब्री गाउँपालिकाका स्थानीयवासीले नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।
नेपालमा खानेनुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको नौ रुपैयाँ निर्धारण गरेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ । बस्ती जति विकट छ, नुनको मूल्य पनि त्यति नै महँगो छ ।
मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा एक प्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पुगेको छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने नुन साम्दोसम्म पुर्याउन मात्रै प्रतिकिलो १०० रुपैयाँ ढुवानी खर्च लाग्ने स्थानीय निमा दोर्जेले बताइन् ।
“पाङसिङबाट साम्दोसम्म एक पोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रुपैयाँ पर्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसमा पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एक पोका नुनको मूल्य २०० रुपैयाँ पुग्छ”, उनले भनिन् ।
सामागाउँभन्दा केही तल रहेको वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ पर्ने गरेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट १०० रुपैयाँमा नुन खरिद गर्नुपर्ने स्थानीय काल्देन छेवाङले बताइन् ।
उनका अनुसार पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ रुपैयाँ भाडा लाग्छ । त्यसबेला एक प्याकेट नुनको मूल्य १०० रुपैयाँ पर्छ । वर्षायाममा ढुवानी भाडा प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने भएकाले खाद्यान्नलगायत वस्तुको मूल्यसमेत बढ्ने गरेको छ । वडा नं ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा नुनको मूल्य प्रतिप्याकेट १०० देखि १७० रुपैयाँसम्म पर्ने स्थानीयवासीले बताएका छन् ।
त्यस्तै, चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयो नुनको १८० देखि २०० रुपैयाँसम्म तिर्ने गरेका छन् । पाङसिङबाट डेढदेखि दुई दिनको पैदल दूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्छ । लामागाउँसम्म प्रतिकिलो ५५ रुपैयाँ र छेकम्पारको छेकम गाउँसम्म ५० रुपैयाँ ढुवानी भाडा पर्ने स्थानीय पासाङ फुन्जो लामाले जानकारी दिए । छेकम्पारका गाउँबस्तीमा भने एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ छ ।
गाउँपालिका–६ चुम्लिङमा एक प्याकेट आयो नुनको १०० रुपैयाँ पर्ने स्थानीय गोपाल लामाले बताए । उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ३० रुपैयाँ भाडा लाग्छ ।
सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउने उद्देश्यले ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ । कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए ।
“उत्तरी गोरखाको मागअनुसार कर्पोरेसनले आयो नुन पठाउँछ । हामीले यहाँबाट प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाएका हुन्छौँ”, उनले भने, “पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ ।”
सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा भने पुग्न सकेको छैन । अनुदानमा प्राप्त नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए ।
“सरकारले जगतसम्म नुन पुर्याउन ढुवानी अनुदान दिन्छ । त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ । त्यसैले हामीले चर्को खच्चड ढुवानी भाडा तिर्नुपर्छ”, उनले भने ।
नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ । तर, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ । बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ । बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन ।
फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छवटा वडा अझै सडक सञ्जालबाट वञ्चित छन् । सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा समेत प्रतिप्याकेट ३० रुपैयाँ पर्ने आयो नुनको मूल्य ६० रुपैयाँ पुगेको स्थानीय कुमारी गुरुङले बताइन् । आर्खेटबाट फिलिमसम्म सामान आइपुग्दा ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उनको भनाइ छ ।
मोटर पुगेको वडा नं ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो । मनास्लु क्षेत्रका अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्याउँदा प्रतिकिलो १०० रुपैयाँसम्म ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले जानकारी दिए । उनका अनुसार तीन दिनको पैदल यात्रापछि मात्रै गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च प्रतिकिलो १०० रुपैयाँसम्म पर्ने गरेको छ ।