पर्सा– नेपाल टेलिकमले सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको छ ।
यसका लागि हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौताअनुसार पर्सा जिल्लाभरका सेवाग्राहीले हुलाक सेवामार्फत आफ्नै घरमा नेपाल टेलिकमको सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले घरमै सिमकार्ड पाउने व्यवस्था मिलाइएको हो । यस सेवाले सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटाउने उनले बताए ।
सेवाको सुरुवातसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड हस्तान्तरण गरेका छन् ।
यसअघि हुलाक सेवा विभागले चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस) तथा हुलाक बचत बैंकसम्बन्धी सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजातसमेत हुलाकमार्फत वितरण हुँदै आएका छन् ।
त्यसैगरी, हुलाक वस्तु तथा पार्सलको अवस्थाबारे सेवाग्राहीले अनलाइनबाटै जानकारी लिन सक्ने गरी ट्र्याकिङ प्रणालीलाई समेत थप व्यवस्थित बनाइएको विभागले जनाएको छ ।