काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर शुक्रबार भवनको शिलान्यास तथा जगपूजा गरेका छन्।
करिब एक लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संरचना निर्माणदेखि इन्टेरियरसम्मका सम्पूर्ण काममा करिब तीन अर्ब रुपैयाँ खर्च हुने बैंकले जनाएको छ।
अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो र सुविधासम्पन्नमध्ये एक हुने बताए। काठमाडौंको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन सम्पन्न भएपछि आइकनिक संरचनाका रूपमा स्थापित हुने उनको विश्वास छ। ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकको साथ र सहयोगले केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नियामक निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक र आम नागरिकबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको विश्वास र सहयोगले बैंक ठूलो वित्तीय संस्थाका रूपमा स्थापित हुन सफल भएको बताए। हाल केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनि ल्याउन सकिने उनको भनाइ छ।
रेग्मीका अनुसार नयाँ भवनलाई नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक संरचनाका रूपमा निर्माण गरिनेछ। यसबाट केन्द्रीय स्तरका विभागहरूको कार्यसम्पादन थप व्यवस्थित र प्रभावकारी हुने बैंकको अपेक्षा छ।