काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले कानुनी सीमाबाहिर गएर अधिकार प्रयोग गर्न थालेको भन्दै आपत्ति जनाएका छन्। समाचार प्रकाशित भएकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको उनले बताए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको बताए।
नागरिक दबाबपछि पक्राउ परेका पत्रकार रिहा भए पनि घटनालाई त्यतिमै सीमित गर्न नहुने उनको भनाइ थियो। यसले सरकारले राज्यको अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताए।
‘सरकारको इच्छा नै कानुन हो भन्ने लाग्न थाल्छ, त्यसपछि समस्या सुरु हुन्छ,’ थापाले भने, ‘यो प्रवृत्ति जसरी देखिएको छ, यसले अब हद नाघेको छ।’
उनले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे। राज्यका निकायलाई व्यक्तिगत आदेश पालना गर्ने संयन्त्रका रूपमा बुझ्ने प्रवृत्ति शक्तिको स्वेच्छाचारी प्रयोग भएको उनको भनाइ थियो।
प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र राष्ट्रिय संकटका बेला साथ दिने उल्लेख गर्दै थापाले लोकतन्त्र, नागरिक अधिकार र मौलिक हकको सवालमा सरकारका गलत कदमको भने प्रतिवाद गर्ने बताए।
‘जहाँ लोकतन्त्रको कुरा हुन्छ, नागरिकको अधिकारको कुरा हुन्छ, सरकारले सीमा नाघ्छ भने हामी चुप बस्दैनौँ,’ उनले भने।
सरकारको कार्यशैलीमा देखिएको यस्तो प्रवृत्तिलाई सामान्यीकरण नगर्न आग्रह गर्दै उनले नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दललाई सचेत हुन आह्वान गरे। सरकारको अधिकार कानुनबाट प्राप्त हुने भएकाले त्यसको प्रयोग पनि कानुनी सीमाभित्रै हुनुपर्नेमा उनले जोड दिए।