काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सडकमा ट्राफिक प्रहरी खटाउनेभन्दा प्रविधिमा आधारित स्मार्ट प्रणालीको प्रयोग बढाउनुपर्ने बताएका छन्। उनले ट्राफिक बत्तीको विस्तार, बिग्रिएका बत्तीको मर्मत र ट्राफिक कन्ट्रोल रुमलाई व्यवस्थित बनाउन लगानी बढाइने बताए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रममा गजुरेलले ट्राफिक प्रहरीको मुख्य भूमिका नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने र सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने हुनुपर्ने बताए।
उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती थप्ने र बिग्रिएका बत्ती मर्मत गरी सञ्चालनमा ल्याउने काम भइरहेको छ। यातायात व्यवस्थापन सहज बनाउन ट्राफिक कन्ट्रोल रुम तथा प्रविधिमा आधारित प्रणालीमा थप लगानी गर्ने तयारी रहेको उनले बताए।
आकाशे पुल निर्माणको आवश्यकताबारे उठेको प्रश्नमा गजुरेलले स्मार्ट ट्राफिक प्रणाली प्रभावकारी रूपमा लागू गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता घट्न सक्ने बताए। अहिले पनि आवश्यक स्थानमा आकाशे पुल निर्माण भइरहेको र थप आवश्यक ठाउँमा निर्माण जारी रहने उनको भनाइ थियो।
उनले ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा बस्ने ठाउँ, पिउने पानी र शौचालयजस्ता आधारभूत सुविधा उपलब्ध गराउने विषयमा पनि आफू गम्भीर रहेको बताए। ती सुविधा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता उनले जनाए।
आर्थिक अनुशासनमा सम्झौता नगर्न ट्राफिक प्रहरीलाई निर्देशन
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरी कर्मचारीलाई आर्थिक अनुशासन र प्रहरी आचरणमा सम्झौता नगर्न निर्देशन दिएका छन्।
राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधामै सन्तुष्ट रहनुपर्ने उल्लेख गर्दै उनले आर्थिक अनियमिततामा संलग्न हुने कर्मचारीलाई छुट नदिइने बताए। व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले प्रहरी ऐन तथा नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति नपाउने चेतावनी दिए।
काफ्लेका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन्। सडकमा प्रत्यक्ष रूपमा नागरिकसँग सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीको व्यवहार मर्यादित, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्ने उनले बताए।
उनले नागरिकको आवागमन सहज बनाउने र प्रहरीका कारण कसैले दुःख पाउन नहुनेमा जोड दिए। अस्पताल जान हतारिएका घाइते बोकेका नागरिक र मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनको भनाइ थियो।
परिस्थितिअनुसार स्वविवेकीय अधिकार प्रयोग गर्नुपर्ने भए पनि त्यसको अर्थ कानुन उल्लंघन गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु नभएको उनले स्पष्ट पारे। मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा कानुन उल्लंघन गर्ने व्यक्तिमाथि भने कानुनअनुसार कारबाही गर्नुपर्ने उनले बताए।