काभ्रे– अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ।
आज बिहान खोलाबाट लेदोमाटोसहितको गेग्रान बस्तीमा पस्दा स्थानीय शेरबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्तापाताको छानो भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घरको छानोमा रहेको जस्ता मात्र देखिने गरी लेदोमाटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
त्यसैगरी, शेरबहादुरकै नजिक रहेको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरमा समेत लेदोमाटोसहितको पानी पसेर क्षति पुगेको छ। हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय तथा चौपायाको क्षति नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुवै परिवारका आठ–आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारका सदस्यलाई आफन्तको घरमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ।