काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्ग, बिपी राजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खस्नुका साथै खोलामा आएको बाढीले सडकमा क्षति पुर्याउँदा यातायात आवागमन प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा माथिबाट पहिरो खसेपछि पृथ्वीराजमार्गको दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको बिपी राजमार्ग पनि अवरुद्ध भएको छ। आज बिहान ४ः५५ बजेदेखि रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर आएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ। यस्तै, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत यातायात सञ्चालन हुन सकेको छैन।
वर्षाका कारण ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि आवागमन प्रभावित भएको छ। ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाट क्षेत्रमा पानीको बहाव बढेपछि करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा पनि ढुङ्गासहितको पहिरो खसेर कालीगण्डकी करिडोरको पक्की सडक पूर्ण रूपमा बन्द भएको छ।
यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकमा पहिरो र बाढीको जोखिम बढेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।