सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोहको अभियोगमा मृत्युदण्ड दिन विशेष अभियोजन पक्षले माग गरेको छ। सन् २०२४ मा असंवैधानिक रूपमा सैनिक शासन घोषणा गरी विद्रोहको नेतृत्व गरेको आरोपमा बिहीबार भएको पुनरावेदन सुनुवाइका क्रममा अभियोजन पक्षले यस्तो माग गरेको हो।
विशेष अभियोजक चो युन सुकको टोलीले युद्ध, हिंसात्मक घटना वा राष्ट्रिय सङ्कटकालीन अवस्था नरहेको समयमा सैनिक शासन घोषणा गरेर युनले विद्रोहको नेतृत्व गरेको आरोप लगाएको छ। अभियोजन पक्षले यसअघि पहिलो तहको अदालतमा पनि उनलाई मृत्युदण्ड दिन माग गरेको थियो। तर गत फेब्रुअरीमा तल्लो अदालतले युनलाई आजीवन कारावासको सजाय सुनाएको थियो।
दक्षिण कोरियाको कानुनअनुसार विद्रोहको मुख्य योजनाकार दोषी ठहर भए मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ।
युनले सन् २०२४ डिसेम्बर ३ को राति आकस्मिक रूपमा सैनिक शासन घोषणा गरेका थिए। तर राष्ट्रिय सभाले केही घण्टामै उक्त निर्णय उल्ट्याउँदै सैनिक शासन अन्त्य गरेको थियो। त्यसपछि महाभियोग प्रक्रियामार्फत पदमुक्त गर्ने निर्णयलाई संवैधानिक अदालतले सन् २०२५ अप्रिलमा सदर गरेको थियो।
विद्रोहको मुख्य योजनाकार भएको आशङ्कामा युनलाई सन् २०२५ जनवरीमा हिरासतमै रहेका बेला अभियोग लगाइएको थियो। उनीविरुद्धको मुद्दामा अदालतको अन्तिम फैसला आउन बाँकी छ।