काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले सरकार र प्रहरी प्रशासनबीच द्वन्द्व चलिरहेको बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको डीआईजी सम्मेलन पनि त्यसैको परिणाम भएको उनको दाबी छ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चौलागाईंले प्रहरीले आपराधिक अनुसन्धानसँग सम्बन्धित विवरण सार्वजनिक गर्ने र सत्तारुढ दलकै सांसदले प्रहरी प्रशासनको आलोचना गर्ने प्रवृत्तिले दुई पक्षबीच द्वन्द्व बढाएको बताए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालय बोलाएर प्रहरी नीति समन्वय समिति (पीसीसी)को बैठक गरेका थिए।
कार्यक्रममा चौलागाईंले न्यायपालिकाभित्र रहेको बिचौलिया सञ्जालको निष्पक्ष र गहिरो छानबिन गर्नुपर्नेमा पनि जोड दिए। जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो। न्यायपालिकाभित्रका अनियमितता ढाकछोप गर्न पछिल्लो समय मिडिया ट्रायल भइरहेको उनले आरोप लगाए।
उनले न्यायपालिकाको शुद्धीकरणका लागि क्रमभंगता आवश्यक रहेको उल्लेख गर्दै हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतका प्रतिवेदनसमेत अध्ययन गरी छानबिन गर्नुपर्ने बताए।
‘सरकार र प्रहरीको बीचमा कहीँ न कहीँ कन्फ्लिक्ट भइरहेको छ। हिजोको डीआईजी सम्मेलन पनि त्यसकै रूप हो,’ उनले भने।
न्यायपालिकाभित्रको बिचौलिया सञ्जालमाथि छानबिन गर्न नेपाल बार एसोसिएसनले छुट्टै समिति गठन गर्नुपर्ने पनि चौलागाईंले बताए। यस विषयमा कठोर निर्णय लिन मंसिर पहिलो साता नै संसद् बोलाउनेबारे छलफल भइरहेको उनको भनाइ थियो।