काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ गर्ने घटनाक्रममा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।
‘आज जे–जति घटनाक्रम विकास भएका छन्, ती घटनाक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता छैन,’ दाहालले अनलाइनखबरसँग भनिन्, ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’
यसैबीच प्रहरीले आज विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकमा खटिएका प्रहरीसमेत पत्रिकाको कार्यालयमा पुगेका छन् । प्रहरी टोलीले मैनालीलाई नियन्त्रणमा नलिई कार्यालयबाट नफर्किने भन्दै त्यहीँ बसेको जनाइएको छ ।