काठमाडौं । बाढीपहिरोबाट प्रभावित रसुवाका क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना र सुरक्षा उपस्थिति विस्तारको काम अघि बढाइएको छ। तर, बेपत्ता व्यक्तिको खोजीका लागि जमिनमुनि शव पहिचान गर्न सक्ने आधुनिक उपकरण नहुँदा खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र बेपत्ताको खोजीलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरीको उपस्थिति आवश्यक रहेको बताए।
उनका अनुसार विपद्का कारण विस्थापित भएको रसुवाको हाकुस्थित प्रहरी चौकी पुनःस्थापना भइसकेको छ। स्याफ्रुबेसीमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली पुनर्गठन गरिएको छ भने बेत्रावती र टिमुरेलगायत संवेदनशील क्षेत्रमा पनि प्रहरी उपस्थिति बढाइएको छ।
प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी कार्य नियमित रूपमा भइरहेको कार्कीले बताए। स्थानीयवासीको जनगुनासोका आधारमा समेत खोजी गर्नुपर्ने भएकाले स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।
हाल खोजी कार्य परम्परागत विधिबाट भइरहेको छ। जमिनमुनि करिब डेढ मिटरसम्म पुरिएका शव पहिचान गर्न सक्ने आधुनिक उपकरणको अभावमा खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
क्षतिग्रस्त प्रहरी चौकीका स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न चुनौती रहेको पनि कार्कीले बताए। जग्गा प्राप्ति र पूर्वाधार निर्माणको काम अघि बढाएर स्थानीय सुरक्षा तथा नागरिकका दैनिक सेवासमेत प्रभावकारी बनाउने प्रहरीको योजना छ।