बाजुरा । बाजुराको बेतालमाडौँ–डेल्टा सडकखण्डअन्तर्गत बार्जुगाड खोलामा १० वर्ष लगाएर निर्माण गरिएको पक्की पुल अझै सञ्चालनमा आउन सकेको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल बनाउन एक दशक लागे पनि सडकको दुरवस्था र अन्य विवादका कारण सञ्चालनमा आउन नसकेको हो ।
खप्तड छेडेदह गाउँपालिका–३ र बूढीगङ्गा नगरपालिका–४ को सीमामा रहेको खोलामा पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि प्रयोगमा आउन नसकेको स्थानीय रामबहादुर रावतले बताए ।
उनका अनुसार पुल नहुँदा वर्षायाममा विद्यार्थी, बिरामी तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि पैदलयात्रा सहज भए पनि यातायात सेवा सञ्चालन नहुँदा स्थानीयले पुरानै समस्या भोग्नुपरेको छ ।
विसं २०७३ मा तत्कालीन जिल्ला विकास समितिले दुई करोड २९ लाख रुपैयाँ लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुलको ठेक्का सम्झौता गरेको थियो । अछामको साउँद एडभेन्चर जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल २०८३ असारमा मात्रै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जङ्गबहादुर थापाले बताए ।
उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पुलको निर्माण कार्य सम्पन्न भए पनि आसपासको सडकको अवस्था कमजोर रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले जानकारी दिए ।
निर्माणमा भएको ढिलाइका कारण आर्थिक दायित्वसमेत थपिएको कार्यालयले जनाएको छ । महालेखाले कुल बजेटको १० प्रतिशत रकम असुल गर्नुपर्ने भन्दै २२ लाख रुपैयाँ बेरुजु देखाएको प्रमुख थापाले बताए ।
‘पुल निर्माणको सम्पूर्ण काम सकिएको छ । तर, ठेकेदारले काममा ढिलाइ गरेपछि रकम असुल गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘ठेकेदारले उक्त रकम तिर्न नमानेकाले पुल हस्तान्तरण हुन सकेको छैन ।’
पुल तयार भए पनि बेतालमाडौँ–डेल्टा सडकखण्डका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा थप समस्या भएको छ । बूढीगङ्गा नगरपालिका क्षेत्रको सडक लामो समयदेखि अवरुद्ध रहेको स्थानीय दीपक रावतले बताए । सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत तथा दैनिक कामकाजमा कठिनाइ भइरहेको उनको भनाइ छ ।
बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले दसैँअघि नै अवरुद्ध सडक खुलाउने तयारी गरिएको भए पनि सडक मर्मतमा प्रयोग हुने मेसिन बिग्रिएकाले काम प्रभावित भएको बताए । मेसिन मर्मत भएपछि तत्काल सडक खुलाइने उनले जानकारी दिए ।
पुल निर्माणमा एक दशक लागे पनि सडक सञ्चालन र पुल हस्तान्तरणको काम पूरा नहुँदा स्थानीयवासीले सहज यातायात सेवाको सुविधा पाउन सकेका छैनन् ।