काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार त्रिशूली करिडोरमा रहेका ती पुल बाढीका कारण क्षतिग्रस्त भएका थिए। कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले सबै पुलको मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
उहाँका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटामा बढी क्षति पुगेको थियो। बाढीले पुलका लट्ठा बटार्ने, डेक तथा बिम बगाउने र छेउमा लगाइएका जालीमा क्षति पुर्याएको थियो। बाँकी सातवटा पुलमा भने सामान्य क्षति पुगेको थियो।
बढी क्षति भएका पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र साइडका जाली राख्नेलगायतका काम गरिएको बुढाथोकीले बताउनुभयो। अन्य पुलको सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
बृहत् मर्मत गरिएका पुल
बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर गाउँपालिका–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, बेलकोटगढी–५ र धादिङको गल्छी गाउँपालिका–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल तथा बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल रहेका छन्।
त्यसैगरी, धादिङको सिद्धलेक गाउँपालिका–३ र बेनीघाट रोराङ गाउँपालिका–३ जोड्ने पुल, नुवाकोटको बेलकोटगढी–५ स्थित केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने पुल तथा सिद्धलेक–६ र गजुरी गाउँपालिका–१ जोड्ने पुलको पनि बृहत् मर्मत गरिएको छ।
धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नम्बर ४ जोड्ने पुल, गल्छी–२ र वडा नम्बर ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल तथा नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट पुल पनि मर्मत गरिएका छन्।
गोरखाको गण्डकी गाउँपालिका–७ र धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ जोड्ने झोलुङ्गे पुलसमेत बृहत् मर्मत गरेर सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
सामान्य मर्मत गरिएका पुल
गोरखाको गण्डकी गाउँपालिका–८ र धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ जोड्ने बादरे झोलुङ्गे पुल सामान्य मर्मतपछि सञ्चालनमा आएको छ।
त्यसैगरी, धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, सिद्धलेक–५ र बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल तथा गल्छी–२ र वडा नम्बर ४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुलको सामान्य मर्मत गरिएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–४ र चितवनको इच्छाकामना गाउँपालिका–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल, धादिङको गल्छी–२ र वडा नम्बर ४ जोड्ने महादेवस्थान झोलुङ्गे पुल तथा गोरखाको गण्डकी गाउँपालिका–६ र चितवनको इच्छाकामना गाउँपालिका–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल पनि मर्मतपछि सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।