तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध भएको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ।
गत असोज ११ गते आएको बाढीले घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पुलको दुवैतर्फको पहुँच सडक बगाएको थियो। नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिए पनि तनहुँतर्फको सडक बुधबार मात्रै सम्पन्न भएको हो।
दुवैतर्फको पहुँच सडक निर्माण सम्पन्न भएसँगै बुधबारदेखि पुलबाट सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए।
तनहुँतर्फको पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय तनहुँले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। सडक निर्माणको जिम्मा स्याङ्जाको सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौतामार्फत पूरा गरेको हो।
पुल सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायत जिल्लामा आवतजावत सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई राहत पुग्नेछ।
करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोरनजिकै अवस्थित छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावतका लागि महत्वपूर्ण मानिने यो पुलको पहुँच मार्ग बाढीले बगाएपछि दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन प्रभावित भएका थिए।
पुल पुनः सञ्चालनमा आएसँगै दसैँका बेला घर आउजाउ गर्ने सर्वसाधारणलाई विशेष राहत मिल्ने गाउँपालिका अध्यक्ष थापाले बताए।