काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४० रन बनाए। उनले चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, आशिफ शेखले २५ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा दुई चौका प्रहार गरे। अनिल खरेलले २७ बलमा १५ रन बनाउँदा ओपनर सैफ जैबले १४ बलमा १३ रन जोडे। जैबले दुई चौका प्रहार गरे। सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
लुम्बिनीका बलरमध्ये किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पारे। शाड्ली भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक राज भण्डारीले समान एक विकेट लिए।
सुदूरपश्चिमको यो स्कोर अघिल्लो सिजनको फाइनलमा बनाएको स्कोरभन्दा केवल दुई रन बढी हो। गत सिजनको फाइनलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो। उक्त खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अविनाश बोहरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ जैब, ब्रान्डन म्याकमुलेन र विनोद भण्डारीलगायतका खेलाडी छन्।
त्यस्तै, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्सी सर्ट, शमिम हुसेन, निरोशन डिक्वेला र आशिफ शेखलगायतका खेलाडी रहेका छन्।
एनपीएलको आगामी खेलमा सुदूरपश्चिम रोयल्सले बुधबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी लायन्सले भने शनिबार चितवन राइनोजको सामना गर्नेछ।