काठमाडौँ । धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै आइतबार कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ। यससँगै १५ दिन लामो बडादसैँ पर्व औपचारिक रूपमा समापन भएको छ।
दुर्गा पक्ष अर्थात् बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा साँझ घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो। धार्मिक मान्यताअनुसार यस दिन महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आइतबार नै सम्पन्न भएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएको छ। यस अवसरमा कतिपयले जमरालाई नजिकका नदी, तलाउ तथा पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गरेका छन्।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष नेपालीले आ–आफ्नो परम्परा र गच्छेअनुसार मनाएका थिए। धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।
समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्र विजयादशमीकै दिन समाप्त हुने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समापन हुन्छ।
लक्ष्मीपूजाको १५ दिनपछि पुनः महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
कोजाग्रत पूर्णिमाका अवसरमा महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने परम्परा छ। यस दिन रातभर जाग्राम बस्ने तथा परम्पराअनुसार जुवा खेल्ने प्रचलनसमेत रहेको छ।