गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा स्कार्पियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे तथा सोही स्थानका सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्। त्यस्तै, वालिङ नगरपालिका–२ की नीता बगालेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सीता पाण्डे, कुलानन्द पाण्डे र नीता बगालेको उमेर खुल्न सकेको छैन।
दुर्घटनामा परी कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, सोही स्थानकी गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ भने गोमता र बालकृष्णको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये दुई जनाको स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल र एक जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो आज अपराह्न करिब ४ बजे दुर्घटनामा परेको हो। कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित भित्री सडकबाट उक्त गाडी करिब २५० मिटर तल खसेको बताइएको छ।
दुर्घटनाको जानकारी पाएपछि स्थानीयवासी तथा प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ।