ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०७ जना भक्तजनले दर्शन गरेका थिए। शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार ९५२ ले घटेको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा दर्शन गर्न नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। त्यस्तै, भारतको सिक्किम र दार्जिलिङलगायत क्षेत्रबाट पनि भक्तजन पाथीभरा पुग्ने गरेका छन्।
पाथीभरा दर्शनका लागि यातायातका साधनमार्फत काफ्लेपाटीसम्म सहजै पुग्न सकिन्छ। त्यहाँबाट करिब पाँच किलोमिटरको उकालो पदमार्ग हुँदै मन्दिर पुग्नुपर्छ। पैदल हिँड्न कठिनाइ हुने तीर्थयात्रीका लागि सहयोगीको व्यवस्था पनि गरिएको छ। सहयोगीले काफ्लेपाटीदेखि मन्दिरसम्म र मन्दिरदेखि काफ्लेपाटीसम्म बोकेर ल्याउने–लैजाने सेवा प्रदान गर्छन्। उक्त सेवाका लागि प्रतिकिलो दुई सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था रहेको छ।
समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरालाई शक्तिपीठका रूपमा पूजाआजा गरिन्छ। यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका छन्।
दशैंदेखि तिहारसम्मको समय पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिन्छ। यस अवधिमा ठूलो सङ्ख्यामा तीर्थयात्री पुग्ने गरेका छन्।