काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको ओडीआई शृङ्खलाको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ओमान ‘ए’ लाई २ विकेटले पराजित गरेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा बुधबार भएको खेलमा ओमान ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अभ्यासका लागि लक्ष्यलाई २४० रन कायम गर्दै ब्याटिङ गरेको थियो । नेपालले १० बल बाँकी छँदा ८ विकेट गुमाएर २४० रन पूरा गरेको हो ।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रन बनाए । आसिफ शेखले ३७, गुल्शन झाले ३० तथा देव खनालले अविजित ३४ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान ‘ए’ ३९.५ ओभरमा १६० रनमा अलआउट भएको थियो । ओमानका कप्तान हम्माद मिर्जाले ५४ रन बनाउँदा जिक्रिया इस्लामले ३५ र सन्जु सजीवले ३४ रन जोडे ।
नेपालका नन्दन यादवले ५ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए भने गुल्शन झा, ललित राजवंशी र शाहब आलमले १–१ विकेट हात पारे ।
नेपालले अब ओमान र क्यानडासँग आगामी सातादेखि सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको ओडीआई शृङ्खला खेल्नेछ ।