काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे पार्टी सभापति गगन थापाले गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा नेता–कार्यकर्ताका सवारीसाधन व्यवस्थापनका लागि कांग्रेसले काठमाडौँका विभिन्न आठ स्थानमा पार्किङको व्यवस्था गरेको छ ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थलमा सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।
काठमाडौँ उपत्यकाबाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि भने माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागमा पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको स्वाँरले बताए ।
धरहरा अन्डरग्राउन्ड र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य तोकिएका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेसले महाधिवेशनमा सहभागी हुने नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई आफू सवारीसाधन लिएर आएको क्षेत्रअनुसार तोकिएको पार्किङस्थलमै सवारी पार्किङ गर्न आग्रह गरेको छ । निर्धारित स्थानमा सवारीसाधन व्यवस्थापन गर्दा महाधिवेशन अवधिमा काठमाडौँको यातायात आवागमन सहज बनाउन सहयोग पुग्ने कांग्रेसले जनाएको छ ।