काठमाडौँ । च्याम्पियन्स लिगमा आर्सनलले आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्दै फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ ।
मंगलबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सात मिनेटभित्र तीन गोल गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै सहज जित निकालेको हो ।
आर्सनलका लागि जुरियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले गोल गरे । टिम्बरले ६०औँ मिनेटपछि गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि एजेले साकाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । साकाले काई हाभर्ट्जको पासमा तेस्रो गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे ।
यसअघि लिड्सलाई २–१ गोलले पराजित गरेको टोलीमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पाँच खेलाडी परिवर्तन गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन् । तर, दोस्रो हाफमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो ।
यस जितसँगै आर्सनल च्याम्पियन्स लिगको अंकतालिकामा बार्सिलोना र स्पोर्टिङ लिस्बनसँगै शीर्ष स्थानको प्रतिस्पर्धामा रहेको छ ।
खेलको अन्तिम समयमा लिलका लागि मैदान प्रवेश गरेका आर्सनलका पूर्वखेलाडी ओलिभियर जिरुडलाई घरेलु समर्थकले स्वागत गरेका थिए । आर्सनलमा छ वर्ष बिताएका जिरुडले क्लबका लागि १०५ गोल गरेका थिए ।
पहिलो खेलमा रियल बेटिससँग पराजित भएको लिलले आर्सनलसँगको हारपछि पनि च्याम्पियन्स लिगमा अंक जोड्न सकेको छैन ।