काठमाडौं । विभागीय टोलीलाई पछि पार्दै निसर्ग वाटिका स्कुलले १४औँ एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग वाटिकाले सर्वाधिक एक हजार ३६३ अक्वा पोइन्ट जोड्दै उपाधि जितेको हो । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब ६१३ अंकसहित दोस्रो र जेम्स स्कुल ६०६ अंकसहित तेस्रो भए ।
जेम्सले सर्वाधिक आठ स्वर्ण, दुई रजत र चार कांस्य पदक जिते पनि अक्वा पोइन्टका आधारमा निसर्ग च्याम्पियन बनेको हो । पाँच स्वर्ण, सात रजत र आठ कांस्य जितेको निसर्ग पदक तालिकामा भने तेस्रो स्थानमा रह्यो ।
पाँच सय ५४ अंक जोडेको त्रिभुवन आर्मी क्लब चौथो भयो । आर्मीले सात स्वर्ण, दुई रजत र छ कांस्य पदक जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गर्यो । सगरमाथा स्विम क्लब ३१५ अंकसहित पाँचौँ, कोशी प्रदेश २३४ अंकसहित छैटौँ र नेपाल पुलिस क्लब १८४ अंकसहित सातौँ भए ।
प्रतियोगितामा डुवाना लामा र इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । डुवानाले सात स्वर्ण जित्दा इरभिनले चार स्वर्ण र दुई रजत पदक हात पारे। दुवैले जनही २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
दुईदिने प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान बने । तीमध्ये महिला खेलाडीतर्फ डुवानाले एक कीर्तिमान बनाइन् भने बाँकी १६ कीर्तिमान पुरुष खेलाडीले बनाए । नेपाल पौडी संघले प्रत्येक राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।
प्रतियोगितामा ३६ टोलीका १५१ खेलाडीले ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र महासचिव ईश्वर कार्कीलगायतले पुरस्कार वितरण गरे ।