काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीले अर्को सूचना जारी नभएसम्म ती सडकखण्ड बन्द रहने जनाएको छ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
गण्डकी प्रदेशमा बाढी र पहिरोका कारण बेंसीसहर हुँदै खाङसार जाने मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा छ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। बेनी–दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ घुमाउने भिरमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
मुस्ताङको जोमसोम–कोरला सडकखण्डअन्तर्गत थासाङ गाउँपालिका–४ काब्रेभिर तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ मा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ सेल्फीडाँडा/घुमाउरीघाटमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा पनि सडक एकतर्फी सञ्चालनमा छ। उक्त स्थानमा ठूला सवारीसाधन भने सञ्चालन गर्न सक्ने अवस्था छैन।
यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुसेडी र सर्केगाड गाउँपालिका–६ स्यालतडीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प रहेको नेपाल प्रहरीले जनाएको छ।