चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो हटाइएसँगै यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो १ः३० बजेदेखि सडकमा यातायात सञ्चालन गरिएको हो। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार दिउँसो १ः२५ बजे पहिरो हटाउने काम सम्पन्न भएको थियो।
मुग्लिन र धादिङतर्फबाट स्काभेटर, लोडर, एक्साभेटर तथा जेसीबीसहितका उपकरण परिचालन गरी पहिरो हटाइएको हो।
उक्त स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो। गए राति १ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।
पहिरो खसेको स्थान मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।