काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी असफल भएको दाबी गरेका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राईले निर्वाचनमा एमाले खुम्चिनुको कारणबारे पार्टीभित्रै समीक्षा भइसकेको बताए । उनका अनुसार निर्वाचनको परिणाम र त्यसका कारणबारे वडा तहसम्म छलफल गरेर कार्यदलले प्रतिवेदन तयार गरिसकेको छ, जुन अब केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुँदैछ ।
ओली नेतृत्वमा एमाले असफल भएको हो कि होइन भन्ने प्रश्नमा उनले थप टिप्पणी आवश्यक नरहेको बताए ।
‘सफल र असफल भएको कुरा त घामझैँ छर्लङ्ग छ, यसमा मैले बोलिरहनु पर्दैन, जनताले देखिरहेका छन्,’ राईले भने ।
यसैबीच, राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति पनि राईले आपत्ति जनाएका छन् । लोकतन्त्रमा नागरिकले आफ्ना विचार लेख्न र बोल्न पाउनुपर्ने भन्दै उनले विचार अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ गर्नु ज्यादती भएको टिप्पणी गरे।