काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले खुट्टा ताने पनि एमाले आफ्नै बाटोमा दृढताका साथ अघि बढ्ने बताएका छन्। उनले पार्टी विभाजन हुने र नेतृत्व परिवर्तन हुनेजस्ता प्रचारमा विश्वास नगर्न कार्यकर्तालाई आग्रह गर्दै आगामी केन्द्रीय कमिटी बैठकबाट एकता र संकल्पसहित अघि बढ्ने बताए।
संविधान दिवसका अवसरमा शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सञ्चारमाध्यममा पार्टी फुट्ने तथा आफूलाई हटाएर नयाँ अध्यक्ष बन्नेजस्ता समाचार आए पनि त्यस्ता प्रयास सफल नहुने दाबी गरे।
‘एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन,’ उनले भने।
आफूमाथि विभिन्न प्रयास भइरहे पनि त्यसबाट विचलित नहुने बताउँदै ओलीले आफूले राजनीतिक जीवनमा धेरै संघर्ष पार गरेर आएको बताए। महाभारतका भीष्म पितामहसँग आफूलाई तुलना गर्दै उनले भने, ‘केपी ओली सरसैयामाथि ढलेको छैन, खडै छ। फेरि पनि मैदानमा छ।’
७४ वर्षको उमेरमा अमरसिंह थापा युद्धको मैदानमा रहेको प्रसंग उल्लेख गर्दै ओलीले आफू अहिले ‘तरबार होइन, कलम लिएर युद्धको मैदानमा’ रहेको बताए।
उनले एमालेका नेता–कार्यकर्तालाई जनतामाझ गएर सचेत बनाउन आग्रह गरे। संविधान, लोकतान्त्रिक प्रणाली र लोकतन्त्रको रक्षा गर्नु एमालेको प्रमुख कार्यभार भएको उनको भनाइ थियो।