काठमाडौं । शुक्रबारदेखि नेपालका चलचित्र हलमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रतीक्षित फिल्म ‘झिँगेदाउ २’ र ‘कार्की साइँला’ सँगै ‘माया बस्छ कि के हो’ पनि आजदेखि प्रदर्शनमा आएको हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’ हराएकी आमाको खोजीमा दुई दाजुभाइले गर्ने संघर्षको कथामा आधारित छ । फिल्ममा पारिवारिक सम्बन्ध, दुई बुहारीबीचको नोकझोंक तथा पारिवारिक संवेदनालाई समेत कथाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरिएको छ ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र हिउँवाला गौतमलगायत कलाकारको मुख्य भूमिका रहेको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट पीजी प्रमाणपत्र पाएको यस फिल्मको रनटाइम १४९ मिनेट रहेको छ ।
यसैगरी, राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको फिल्मले कार्की साइँला नाम गरेका एक भरियाको जीवनयात्रालाई कथाको केन्द्रमा राखेको छ ।
फिल्ममा जितु नेपाल शीर्ष भूमिकामा छन् । कार्की साइँला’ ले पनि केन्द्रीय चलचित्र जाँच समितिबाट पीजी प्रमाणपत्र पाएको छ । यसको रनटाइम १२० मिनेट रहेको छ ।
त्यस्तै, सोनाल तामाङको मुख्य भूमिका रहेको ‘माया बस्छ कि के हो’ पनि शुक्रबारदेखि नै नेपालका हलमा प्रदर्शनमा आएको छ ।