काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक सबै लचकता अपनाउन तयार रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले सबै पक्षलाई एकै ठाउँमा ल्याएर महाधिवेशन सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने पहल गर्ने बताएका हुन् ।
पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरूलाई आग्रह गर्दै थापाले काँग्रेसले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था नरहेको बताए । उनले पार्टीभित्रका सबै पक्षलाई समेटेर सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ,’ थापाले भने ।
महाधिवेशन व्यवस्थापन समिति आफ्नो संयोजकत्वमा गठन गर्ने निर्णय भएको जानकारी दिँदै थापाले छोटो समय रहेकाले केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई व्यवस्थापनको काममा सहयोग गर्न आग्रह गरे । आवास, भोजनलगायत लजिस्टिक व्यवस्थापनका लागि विभिन्न समिति बनाएर काम अघि बढाउने उनले बताए ।
महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयमा पनि सबैसँग सरसल्लाह गरेर अघि बढ्ने निर्णय भएको थापाले बताए । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेट्न आवश्यक पहल र लचकता अपनाउन आफू तयार रहेको उनको भनाइ थियो ।
सभापति थापाले वरिष्ठ नेताहरूलाई महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्ने वातावरण बनाउन पुनः आग्रहसमेत गरे ।