काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ ।
आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यसैबीच, आजै सङ्घीय संसद्का तीन वटा संसदीय समितिको बैठक पनि बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।