काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले लामो समयदेखि रिक्त रहेका राजदूत नियुक्ति तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले राजदूतको कुर्सी खाली राखेर नेपालको कूटनीति बलियो हुन नसक्ने बताए। योग्यता, क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक प्रशस्तै रहेको भन्दै उनले राजदूत नियुक्ति रोकिएको कारणबारे सरकारसँग प्रश्न गरे।
‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन,’ उनले भने, ‘अनि रोकियो चाहिँ कहाँ ? के ले रोक्यो, कसले रोक्यो सरकार ?’
प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको उल्लेख गर्दै न्यौपानेले अमेरिकामै नेपालको राजदूत नहुनु विडम्बनापूर्ण भएको बताए। रिक्त कूटनीतिक नियोगलाई नेतृत्वविहीन नराखी तत्काल राजदूत नियुक्त गर्न उनले सरकारसँग माग गरे।
उनले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा मात्रै नछोड्नसमेत सरकारको ध्यानाकर्षण गराए।
यसअघि अभियन्ता दुर्गा प्रसाईंले पनि सरकारले राजदूत नियुक्तिका लागि आर्थिक मोलमोलाई गरिरहेको आरोप लगाउँदै नियुक्तिमा ढिलाइ भएको दाबी गरेका थिए।