काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले मुलुकको संकटपूर्ण अवस्थालाई नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्दै कालोबजारी भइरहेको आरोप लगाए। उनका अनुसार पछिल्लो समय चामलको मूल्य प्रतिबोरा २ हजार ७ सय, सूर्यमुखी तेल ३ सय, तोरीको तेल ४ सय ४० र खसीको मासु १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ। अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ पुगेको तथा सागपात र फलफूलसमेत महँगिएको उनले बताए।
चार महिनामा मूल्यवृद्धि ४ दशमलव ५६ प्रतिशत पुगेको उल्लेख गर्दै केसीले बजार अनुगमन र आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।
उनले काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार ग्यास सिलिन्डरको माग रहे पनि आपूर्ति आधाभन्दा कम रहेको दाबी गरे। ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै पाइने गरेको भन्दै उनले राज्यको उपस्थितिमाथि प्रश्न उठाए।
‘यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनलाग्दो लुट हो,’ केसीले भने, ‘यतातिर सरकार अत्यन्त गम्भीर हुनुपर्ने आवश्यकता छ।’
उनले दैनिक उपभोग्य वस्तुको मूल्य र आपूर्ति व्यवस्थालाई सहज बनाउन तत्काल प्रभावकारी बजार अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरे।