काठमाडौं। हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) २०२७ आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। सम्मेलनमा १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई सहभागी गराउने तयारी गरिएको आयोजकले जनाएको छ।
हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म ६० भन्दा बढी देशबाट सहभागिता सुनिश्चित भइसकेको जानकारी दिइएको छ। सन् २०२४ मा भएको पहिलो संस्करणमा ४२ देशका विशेषज्ञसहित ३५० भन्दा बढीको सहभागिता थियो।
यसपटक सम्मेलनमा भास्कुलर चिकित्सा तथा अनुसन्धानसम्बन्धी ३०० भन्दा बढी वैज्ञानिक पेपर र पोस्टर प्रस्तुत गरिने तयारी छ। विश्वका विभिन्न मुलुकका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप, अनुसन्धान र उपचार अनुभव आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको डा. पाण्डेले बताए।
सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, जापान, चीन, भारत, यूएईलगायत देशका विशेषज्ञ सहभागी हुने आयोजकले जनाएको छ।
हिमभास २०२७ को अर्को उद्देश्य नेपालको मेडिकल टुरिजम प्रवर्द्धन गर्नु रहेको पाण्डेले बताए। उनका अनुसार पहिलो सम्मेलनमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञले सम्मेलनपछि माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। यसपटक पनि विदेशी चिकित्सकले सम्मेलनपछि नेपालका पर्यटकीय क्षेत्र भ्रमण गर्ने इच्छा व्यक्त गरेको उनले बताए।
पाण्डेका अनुसार पहिलो हिमभासपछि उपचारका लागि ३०० भन्दा बढी विदेशी बिरामीले सम्पर्क गरेका छन्। भारत, भुटान र बंगलादेशसहित मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की तथा केही युरोपेली मुलुकबाट बिरामी नेपालमा उपचारका लागि आउन थालेको उनले बताए।
आयोजकले सम्मेलनमार्फत भास्कुलर उपचारसम्बन्धी अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदान विस्तार गर्नुका साथै नेपालको स्वास्थ्य सेवा र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।