काठमाडौं। संघीय संसद सचिवालयले संसदीय कामकारबाहीलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सञ्चालन सुरु गरेको छ।
बुधबार आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गरे।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार यसले संसदीय कामलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउँदै कागजको प्रयोग तथा खर्च घटाउनेछ। संसदलाई क्रमशः ‘लेस पेपर’ हुँदै ‘पेपरलेस’ प्रणालीमा लैजाने लक्ष्य रहेको उनले बताए।
प्लेटफर्ममार्फत सांसदका लागि विद्युतीय हाजिरी, बैठक तथा समितिका सूचना, कार्यसूची र कागजातलगायत सेवा मोबाइल एपबाट उपलब्ध गराउने तयारी छ। नागरिकले सदन तथा समितिका बैठक, कार्यसूची, प्रतिवेदन, भिडियो र ऐतिहासिक अभिलेखमा डिजिटल पहुँच पाउनेछन्।
सचिवालयका अनुसार प्लेटफर्मले सांसदको विवरण तथा अभिलेख व्यवस्थापन, विधेयकको डिजिटल दर्ता र प्रगति अनुगमन तथा संसदीय बहसको श्रव्यदृश्य अभिलेखलाई एकीकृत गर्नेछ। नेपाली र अंग्रेजी भाषामा अर्थमा आधारित खोज तथा विधेयक र प्रतिवेदनको सारांश तयार गर्ने एआई सुविधा पनि समावेश गरिनेछ।
प्लेटफर्म विकासको पहल २०८० भदौ १५ गते बसेको उच्चस्तरीय बैठकको निर्णयअनुसार अघि बढाइएको हो। सचिवालयले यसलाई भविष्यमा विद्युतीय मतदान, संसदीय निर्देशनको कार्यान्वयन अनुगमन तथा डिजिटल गुनासो प्रणालीका लागि समेत आधारका रूपमा विकास गर्ने जनाएको छ।